३६ जिल्लामा व्यावसायिक पुष्प खेती


 नेपालका ३६ जिल्लामा व्यावसायिक पुष्प खेती हुने गरेको पाइएकोे छ । राष्ट्रिय तथ्यांक विभागले सोमबार सार्वजनिक गरेको व्यावसायिक पुष्प खेती सर्वेक्षणसम्बन्धी प्रतिवेदनमा यो उल्लेख छ ।

विभागका महानिर्देशक सुमनराज अर्यालले यीमध्ये काठमाडौं, ललितपुर, मोरङ, कास्की र भक्तपुर जिल्लामा सबैभन्दा बढी व्यावसायिक पुष्प खेती हुने गरेको जानकारी दिए । विभागले आर्थिक वर्ष ०७२÷७३ मा फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को सहयोगमा मुलुकभर पुष्प खेतीको अवस्थाबारे सर्वेक्षण गरेको थियो ।
यसका लागि २०७१ साउन १ गतेदेखि २०७२ असारमसान्तसम्मको अवधिलाई आधार मानिएको थियो । प्रतिवेदनअनुसार काठमाडौंमा दुई सय ८३, ललितपुरमा ४०, मोरङमा २३, कास्कीमा २२ र भक्तपुरमा २० वटा व्यावसायिक फार्मबाट पुष्प उत्पादन हुँदै आएको छ । प्रादेशिक रूपमा सबैभन्दा बढी प्रदेश नम्बर ३ मा तीन सय ८१, प्रदेश नम्बर १ मा ६८, प्रदेश नम्बर २ मा ५४, प्रदेश नम्बर ५ मा २४, प्रदेश नम्बर ४ मा २२ र प्रदेश नम्बर ७ मा १० वटा पुष्प खेतीका फार्म सञ्चालनमा छन् । प्रदेश नम्बर ६ मा भने दुईवटा फार्म मात्रै सञ्चालनमा छन् ।
नेपालमा वार्षिक ६७ करोड रुपैयाँ बराबरको फूलको कारोबार हुने गरेको छ । विभागको कृषि तथा पशुपन्छी गणना तथा सर्वेक्षण शाखाका निर्देशक अम्बिका बस्यालका अनुसार हिमाली र पहाडी जिल्लामा कम्तीमा आठ आना र तराईमा कम्तीमा १० धुर जग्गामा मौसमी, बहुवर्षीय तथा आलंकारिक, कट फ्लावर, बल्व, राईजोम तथा टयुवर, लुज फ्लावर र गार्डेन दुवो उत्पादन गर्ने किसानलाई व्यावसायिक पुष्प खेतीको श्रेणीमा राखिएको छ ।
विभागका अनुसार २०६० देखि २०७० को अवधिमा सबैभन्दा बढी पुष्प खेतीको विकास भएको छ । यो अवधिमा दुई सय ९९ वटा फार्म स्थापना भएर व्यावसायिक उत्पादन भइरहेको छ । यस्ता पुष्प खेती फार्ममध्ये २९ प्रतिशत फार्म महिलाले सञ्चालन गर्दैआएका छन् । बाँकी पुरुषले सञ्चालन गरेका छन् । लुज फ्लावर उत्पादनका क्षेत्रमा महिलाको नेतृत्व ७७ प्रतिशत रहेको पाइएको छ ।
पाँच जिल्लामा व्यावसायिक पुष्प खेती, सबैभन्दा बढी काठमाडौंमा दुई सय ८३ पुष्प फार्म, प्रादेशिक रूपमा सबैभन्दा बढी क्षेत्र नम्बर ३ मा तीन सय ८१ फार्म, वार्षिक ६७ करोड मूल्य बराबरको कारोबार, २६ प्रतिशत व्यावसायिक बैंकको पहुँचमा
‘नेपालको पुष्प खेतीको अवस्थाबारे सरोकारवालको सहयोगमा इतिहासमै पहिलो पटक सर्वेक्षण गरेका छौं’, बस्यालले भने । प्रतिवेदनअनुसार गत वर्ष मुलुकभर सबैभन्दा बढी कट् फ्लावर एक करोड ३० लाख गोटा र मौसमी फुल एक करोड पाँच लाख गोटा उत्पादन भएको थियो । यसैगरी बहुवर्षे फूल, लुज फ्लावर, आलांकारिक फूल, गार्डेन दुवो तथा फूलको बिउ, वल्व, राइजोम, टुवरलगायत उत्पादन हुने गरेको देखिन्छ ।प्रतिवेदनअनुसार फार्ममध्ये ५२ प्रतिशतले मात्रै आधिकारिक रूपमा सरकारी निकायबाट अनुमति लिएर पुष्प खेती सञ्चालन गर्दै आएका छन् । यसमध्ये ४३ प्रतिशतले घरेलुमा, १७ प्रतिशतले गाविस र नगरपालिकामा, १६ प्रतिशतले कम्पनी रजिस्टारको कार्यालयमा, सात प्रतिशतले जिल्ला कृषि विकास कार्यालयमा र १७ प्रतिशतले अन्य निकायमा दर्ता गरेको पाइएको छ ।
एसोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले इतिहासमा पहिलो पटक भएको सर्वेक्षणले नेपालमा पुष्प खेतीका बारेमा यथार्थ जानकारी बाहिर ल्याएको जानकारी दिए । पुष्प खेती गर्नेमध्ये २६ प्रतिशत व्यावसायिले विभिन्न बैंकबाट ऋण लिएका छन् । पुष्प खेती गर्दैआएका किसानमध्ये ३८ प्रतिशतले आफ्नै जग्गा प्रयोगमा ल्याएका छन् भने ६१ प्रतिशतले जग्गा भाडामा लिएका छन् ।

Share on Google Plus

About admin

    Comment
    Facebook Comment

0 comments:

Post a Comment