यसैबिच अतितलाई डिभी पर्छ। डिभी परेपछि उमेर ४५ भए पनि उसले आफूभन्दा २० वर्ष कान्छी बृन्दा (बर्षा राउत) बिहे गर्छ। अतित साथीभाइलाई आफू नआउनजेल बुढीलाई हेरबिचार गर्नु भनेर अमेरिका हानिन्छ। यसैबिच भगवान बर्षासँग नजिकिन्छ। बर्षासँग सल्किदै गर्दा भगवानकी आमाले मर्ने धंकी दिएपछि उ आफ्नो सर्त पूरा हुने सर्तमा बिबाहका लागि राजी हुन्छ।
भगवानले बिहे गरेकी केटीलाई रोजै पिट्न पाउनुपर्ने सर्त पनि बिबाह नगर्ने योजनाको सिलसिला हो तर चम्पा (प्रियंका कार्की) भगवानको सर्त मानेर बिहे गर्न राजी हुन्छे। उनीहरूको विवाहपछि घट्ने घटनाक्रम किन घट्छ भन्ने प्रश्नको उत्तर दिदै बढ्ने कथा नै 'छक्का पन्जा' हो।
टेलिभिजनमा आफ्नो एक किसिमको साम्राज्य खडा गर्दै ठूलो पर्दामा पनि सोही साम्राज्य खोज्न थालेको 'छक्का पन्जा' टोलीको ठूलो पर्दामा तेस्रो फिल्म पहिलेका फिल्मभन्दा झन् परिस्कृत छ। दीपाश्रीको निर्देशकिय डेब्यू फिल्म दर्शकका लागि पूर्णरूपमा मनोरञ्जनको पोको बनेर आएको छ।
कमेडी सोसल ड्रामा श्रेणीको यस फिल्मले रेमिटेन्समाथी उभिरहेको नेपाली समाजमा घटिरहेका र घट्ने क्रममा रहेका सुखका घटना भन्दा पनि त्यसले ल्याएको सामाजिक विचलन अपचलनलाई आफ्नो विषय बनाएको छ। फिल्मले भन्ने कथा नेपाली समाजकै घटना हो।
फिल्मको सबैभन्दा सशक्त पक्ष भनेको दर्शकलाई पेट मिचिमिचि हसाउँन कुनै कसर नराख्ने संवाद हो। फिल्मको संवादले दर्शकलाई हाँसोबाट एक पल पनि विश्राम दिदैन्। यसका लगि फिल्मका संवाद लेखक दीपक राज गिरी, जितु नेपाल तथा केदार घिमिरे (माग्ने बुढा) निशर्त: धन्यवादका पात्र हुन्।
फिल्मको स्टोरीलाईन पनि संवादमा बाँधिदै अगाडी बढेको छ जून फिल्मको अर्को उल्लेखनिय पक्ष हो। फिल्म हेरिरहँदा कथाले दर्शकलाई अब के हुन्छ? भन्ने कौतुहलतालाई प्रभावकारी ढंगले प्रस्तुत गरेको जून फिल्मको अन्त्यसम्म कायम रहन्छ। यो सफल फिल्ममा हुनैपर्ने विशेषता हो। कथाले दर्शकलाई आफूसँग जोड्छ।
यसैगरी फिल्ममा रहेका ६० भन्दा बढि कलाकारलाई सन्तुलित ढंगमा पर्दामा ल्याउनु सहज काम होइन्। त्यस काममा निर्देशक दीपाश्रीले कुनै खोट लगाउने ठाउँ दिएकी छैनन्। पूरै हास्य प्रधानतामा बनेको फिल्मका केही भावानात्मक दृश्यमा भने दीपाश्री अलिकति चुकेकी छन्। ती दृश्य फिल्ममा दर्शकलाई भावनामै बगाउनका लागि थिए तर त्यसको प्रभाव दर्शकमा पर्नुअघि नै छिटो आउने कमेडीको झट्काले त्यसको प्रभाव आउन नपाई बिलाउँछ। यो विशेष गरी माग्ने बुढाको अस्पतालको दृश्यमा विशेष खड्किन्छ। यसका अलावा अन्य कुनै पनि पात्र पर्दामा घटिबढी लाग्दैनन्। उनीहरू फिल्मको कथा अनुसार प्रयोग गरिएका छन्। प्रत्येक पात्रले आफ्नो स्थान अनुसारको प्रस्तुति दिएका छन्।
हास्य कलाकारमाथी लाउड अभिनय गर्ने आरोप पुरानो होइन। 'छक्का पन्जा'मा उनीहरुले त्यस आरोपलाई जवाफ दिएका छन्।
दिपक, बुद्धि, केदार, जितु, शिवहरी, प्रियंका, वर्षा, नम्रता आदि सबैले राम्रो अभिनय गरेका छन्। उनीहरू आफूले निर्वाह गरेको भूमिकामा न्याय गरेका छन्। यति हुँदाहुँदै पनि माग्ने बुढाको 'माग्ने म्याजिक'ले दर्शकलाई छुट्टै प्रभाव पार्छ भने वर्षा राउत दोस्रो फिल्ममा आइपुग्दा निक्कै माझिएकी छन्। फिल्म सकिएपछि यी पात्रले दर्शकको मनमा बेग्लै ठाउँ बनाउछन्।
सिनेम्याटोग्राफीमा पुरूषोत्तम प्रधान, व्याकग्राउन्ड स्कोरमा सुजिल कर्माचार्य, सम्पादनमा विपिन श्रेष्ठको काम राम्रो छ। दर्शकले पहिले नै लालमोहर लगाइसकेका फिल्मका दुई गीत 'पूर्व-पश्चिम रेल' तथा 'सुन न चम्पा' फिल्ममा फिल्मको लय नबिगारीकन घुसेका छन्। कथासँगै बग्ने भएकाले गीतले फिल्ममा रौनकता थपेका छन्। दीपक शर्माको संगीत प्रशंसनिय छ।
संमग्रमा फिल्म जस्तो बन्नुपर्ने हो त्यस्तै बनेको छ। फिल्मको दर्शकलाई बाँध्ने विशेषताले केही मिहिन गल्ती फिल्मभित्रै हराएका छन्। तपाईलाई यो फिल्म निर्माण टोलीले यसअघि बनाएका 'छ एकान छ' तथा 'वडा नम्बर ६'ले मन खुश पारेको छ भने ढुक्क हुनुस 'छक्का पन्जा'मा 'डबल मजा' छ। फिल्मले दर्शकको मनोरञ्जनको मागलाई पूरा गर्छ।
प्रकाशित मिति: शनिबार, भाद्र २५, २०७३
source::http://kala.setopati.com/

0 comments:
Post a Comment