चर्चित हास्य कलाकार तथा पछिल्लो समय असल समाजसेबीको पहिचान बटुलेका सिताराम कट्टेल ( धुर्मुस ) को आज जन्म दिन रहेछ । यहि जन्म दिनको अवसर पारेर उनकी पत्नी कुञ्जना घिमिरे ( सुन्तलीले ) सामाजिक सञ्जाल फेसबुकमा आफ्नो पतिको जन्म दिनको सु अबसरमा स्टाटस अपडेट गर्दै शुभ कामनामा यस्तो लेखेकी हुन् ।
सिताराम कट्टेल (धुर्मुस) सगरमाथाको जिल्ला सोलुखुम्बुको नेचा बेतघारी गाविसमा जन्मिएका हुन् । बुवा बोगराज कट्टेल र आमा कमला कट्टेलको जेठो छोरोका रुपमा वि.सं २०४० साल अशोज ४ गते उनको जन्म भएको हो । उनी ८ वर्षको छँदै उनको परिवार झापा झरेको थियो । माध्यमीक तहसम्मको अध्ययन सिताराम कट्टेलले झापाको गौरादहमा पुरा गरे । निम्न आयस्तर भएको परिवारमा जन्मिएका उनले आफ्नो बाल्यकालदेखि नै आर्थिक अभाव भोगे । कापी कलमको जोहो गर्नका लागि उनी कहिले हलो जोत्थे त कहिले अरुको स्केच चित्र बनाउथे ।
खेतबारीको काम, घाँस दाउरा र घरायसी काम गर्दै अध्ययनलाई अघि बढाएका उनी विद्यालयमा राम्रो विद्यार्थीमै गनिन्थे । अत्यन्तै सोझा तर तेजीला सितारामले एसएलसी प्रथम श्रेणीमा पास गरे । उच्च शिक्षाका लागि उनी बुवाले ऋण गरेर जुटाएको १७ सय रुपैँया गोजीमा राखेर काठमाण्डौँ छिरे । कोठा खोज्दा, सामान जुटाउँदा ३६ प्रतिशत ब्याजमा बुवाले ऋण खोजेर दिएको पैसा सकियो । त्यसपछि काठमाण्डौँमा आएर उनले चित्र बनाउनेदेखि भाँडा बेच्ने कामसम्म गरे । संघर्षले जम्मा गरेको पैसाले रत्न राज्य लक्ष्मी क्याम्पसमा भर्ना भए । साथीहरुलाई जोक र क्यारीकेचर गरेर हँसाएको भरमा थुप्रै छाक टारे । केहि समय पछि उनलाई कलाकार बन्ने भूत चढ्यो । हाँस्यकलाकार खेम शर्मासँगै बस्न थाले । खेम शर्मासँगै हिँड्न थालेपछि चिनजान बढ्यो । तर, गतिलो अवसर पाएनन् । काठमाण्डौँदेखि हार मानेर झापा फर्किएका सिताराम फेरी संघर्षसँग जुध्नका लागि राजधानी आए ।
हिजो आजका कुरामा छोटो संवाद बोल्ने मौका पाए । औपचारीक रुपमा भने हाँस्यकलाकार जितु नेपालले उनलाई कलाकारीतामा प्रवेश गराए । गीताञ्जली टेलिफिल्ममा अभिनय गर्ने मौका जुरेसँगै उनले केदार घिमीरे (माग्ने बुढा)लाई भेटे । धुर्मुस र माग्ने बुढाको जोडी जम्यो । गीताञ्जलीमा अभिनय गदागर्दै उनले दिपकराज गिरीसँगको चिनजानका कारण तितो सत्यको १४ भागसम्म अभिनय गरे । पछि केदार घिमीरेसँग मिलेर मेरी बास्यै हाँस्य टेलिश्रृंखला बनाए । मेरी बास्यैमा सितारामले अभिनय गरेको धुर्मुस पात्रले चर्चा र लोकप्रीयता कमायो । सिताराम कट्टेल एउटै टेलिश्रंखलामा सबैभन्दा धेरै भूमीकामा देखिएका कलाकार हुन् । उनी खड्काजी, मुस्कान पासा, केपी शर्माको नक्कली रुप, खडानन्दलगायत दुई दर्जन भूमीकामा देखिएका छन् । मेरी बास्यै निर्माणकै क्रममा उनले धुर्मुसको जोडीको रुपमा देखिएकी कुञ्जना घिमिरे(सुन्तली)सँग विवाह गरे । अहिले उनीहरुको एक छोरी सुबिहानी छिन् । यस्तै, चलचित्र निर्माण र अभिनयमा पनि सिताराम कट्टेल सहभागि छन् । छ एकान छ, वडा नम्बर ६ लगायतमा हिट चलचित्रमा पनि सिताराम कट्टेलले अभिनय गर्नुका साथै लगानी पनि गरेका थिए । वैशाख १२ को गोरखा भूकम्प पश्चात धुर्मुस सुन्तलीको जोडी सामाजीक काममा पनि सक्रिय छन् ।
भूकम्प पश्चात यो जोडीको सक्रियतामा काभ्रेको डाँडा गाउँमा एकिकृत बस्ती बनाइएको छ । धुर्मु सुन्तली एकिकृत नमुना बस्ती नाम दिइएको उक्त बस्तीले धेरैबाट प्रशंसा पाएको छ । यस्तै, भूकम्प प्रभावितलाई न्यानो बाँड्नुका साथै महोत्तरीको बर्दिबासस्थीत मुसहर बस्तीमा राहात बाँडे । यो सामाजीक कामलाई अझै सक्रिय रुपमा अगाडी बढाउन उनीहरुले वि.सं २०७२ सालमा धुर्मुस सुन्तली फाउण्डेशन स्थापना गरेका छन् ।
source : nagariknews.com

0 comments:
Post a Comment