असोज ४ गते बिहानै काठमाडौं उपत्यकाका ९ वटा स्कुलमा बम राखेर आतंक मच्चाउने मध्येका दुई जनालाई प्रहरीले समातेर अनुसन्धान गर्दैछ।
शंकर लाखे र चन्द्रबहादुर तामाङसहित पाँच जनाको समूहले राखेका ९ बम मध्ये दक्षिणढोकास्थित मनोकामना स्कुल र आकाशदीप स्कुलमा राखिएका दुई सिलिण्डर बम बिस्फोट भएका थिए भने अरू सात वटा बम नेपाली सेनाका जवानले निक्रिय पारेका थिए।
आफ्ना छोराछोरी बिहानै स्कुल पठाउने धेरै अभिभाकको मनमा प्रश्न उठेको छ - यस्तो जघन्य सार्वजनिक अपराधमा संलग्नलाई के कारबाही हुन्छ? उनीहरू छिट्टै छुटेर फेरि यस्तै अपराधिक काम गर्दैनन् भन्ने के ग्यारेन्टी छ?
अघिल्लो पटक यस्तै अपराधिक घटनामा संग्लग्न उनीहरुलाई जे कारबाही भयो त्यसलाई हेर्दा माथिको प्रश्नको सरल र सन्तोषजनक जवाफ आउदैन।
शंकर लाखे र चन्द्रबहादुर तामाङको समूहले गत साउन ६ गते बिहानै काठमाडौंको डल्लुमा ललितपुरस्थित आइडिएल मोडल स्कुलको बा २ क ४६९ नम्बरको बसमा आगजनी गरे।
आठ जनाको समूहमा आएका उनीहरुले विद्यार्थीलाई बसबाट ओरालेर, उनीहरूकै आँखा अघि बसमा दन्दनी आगो सल्काएका थिए।
स्वयम्भु प्रहरीले लाखे र तामाङसहित ८ जनालाई पक्राउ गर्यो। माओवादी कम्युनिष्ट केन्द्रका कार्यकर्ता भन्ने उनीहरुलाई आवश्यक अनुसन्धानपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा चलायो।
मुलुकी ऐनको आगजनी कसुर अन्तर्गत प्रहरीले उनीहरुलाई अधिकतम चार वर्षको जेल सजाय माग गर्यो।
तर काठमाडौं जिल्ला अदालतबाट उनीहरु साधारण तारेखमा छुटे। छुटेको तीन सातामा उनीहरुले फेरि अर्को जघन्य अपराध गरे।
यो घटनाले हाम्रो कानुन, अदालत र प्रहरीको कमजोरीलाई उदाङ्ग पारेको छ।
आतंक मच्चाउने आगजनीका घटनाहरुमा पनि कैयव बर्ष पुरानो र प्रभावकारी संशोधन हुन नसकेको मुलुकी ऐनको व्यवस्था नै आकर्षित हुन्छ। यसमा कसुरको प्रकृतिका तुलनामा अत्यन्तै थोरै सजाय तोकिएको छ।
अहिले मुलुकी ऐन परिमार्जन गरी दोषीलाई सजायको व्यवस्था बढी बनाउनपर्ने एसएसपी विक्रमसिंह थापा बताउँछन्।
‘अहिलेको मुलुकी ऐन परिमार्जन गरी यस्तो जघन्य अपराधका दोषीलाई कडा सजायको व्यवस्था बनाउनु पर्छ,’ काठमाडौंका प्रहरी प्रमुख एसएसपी थापाले बताए।
मुलुकी ऐन अन्तर्गत आउने यस्ता मुद्दामा अदालतले बिरलै अपराध अनुरुपको फैसला गर्ने गरेकोछ। उदाहरणका लागि, प्रहरीले सधै नै अधिकतम सजाय माग गरेको हुन्छ, जस्तै लाखे र तामाङको मुद्दामा पनि चार वर्ष जेल सजायको माग गरेको थियो। तर अपराधका पनि एकदमै कम मात्र मुद्दामा अदालतले अधिकतम सजाय तोक्ने गरेकोछ।
अदालतको अर्को ठूलो कमजोरी जघन्य अपराधमा मुछिएका व्यक्तिहरु पनि मुद्दाको छिनोफानो हुनु अगावै साधारण तारेखमा छुट्ने गरेका छन्।
स्वयम् लाखे र तामाङ पनि साधारण तारेखमा छुटेका हुन्।
छुटेको तीन सातामै उनीहरुले बम बनाए, बालबालिका पढ्ने स्कुलमा लगेर पड्काए। यसमा प्रहरीको पनि कमजोरी देखियो। यस्तो अपराधिक मानसिकता भएका व्यक्तिहरु छुटेपछि तिनीहरुलाई निगरानीमा राख्ने, उनीहरुका गतिबिधि निजीकबाट केलाउने परिपाटी छैन। यदि त्यस्तो भएको भए, प्रहरीले लाखे र तामाङले के गर्दै छन् भन्ने भेउ पाउन सम्भव हुनसक्थ्यो।
लाखे र तामाङ हिजो पक्राउ परेपछि फेरि प्रश्न उठेको छ-उनीहरुले कुन कानुन अन्तर्गत सजाय पाउँछन्, कति सजाय पाउँछन्, र फेरि अपराधिक क्रियाकलापमा संलग्न हुन्छन कि हुन्नन्?
स्कुलमा बम पड्काउन सहयोग गर्ने लाखे र तामाङका अरू तीन जना सहयोगीको पनि प्रहरीले खोजि गरिरहेको छ। लाखे र तामाङ दुई जनालाई भने प्रहरीले विस्फोटक तथा संगठित अपराधमा मुद्दा चलाउने तयारी गरेको छ।
बिस्फोटक पदार्थ प्रयोग गरेमा बढीमा २ वर्ष कैद र २० हजार जरिवाना हुने प्रावधान छ। संगठित रूपमा बिस्फोठक पदार्थको प्रयोग गरेमा त्यसको डेढी अर्थात् ३ वर्ष कैद र ३० हजार जरीवाना हुनेछ। तर यो कानुनले गरेको अधिकतम सजायको व्यवस्था हो। अदालतले अधिकतम सजाय दिन्छ वा दिन्न यकिन छैन।
यो घटनाको अर्को र महत्वपूर्ण पाटो पनि छ। तामाङ र लाखे यो बम बिस्फोटनका मुख्य योजनाकार होइनन्। न त उनीहरु यस्ता अपराधिक घटनाको योजना बनाउने संगठनका नेतृत्वमा बसेका मानिस नै हुन्।
यी सबै घटना एउटा राजनीतिक संगठनको आवरणमा भइरहेका छन्। पूर्व माओवादी लडाकुहरू मिलेर एउटा राजनीतिक संगठन बनाएका छन्-माओवादी कम्युनिष्ट केन्द्र। यसका दुई वटा भित्री संगठन छन्-योङ कम्युनिष्ट फ्रन्ट र अखिल नेपाल क्रान्तिकारी विद्यार्थी संगठन।
निजी स्कुलमा बिपन्न परिवारका छोराछोरी पढ्न पाउनुपर्ने लगायतका मागको आवरणमा यो संगठनले आर्थिक अभिप्राय राखेर अपराधिक काम गर्दै आएको छ। यो संगठनका प्रमुख नाइकेहरु अझै फरार छन्।
काठमाडौं प्रहरी प्रमुख थापाका अनुसार यसपालीको बम विस्फोटका मुख्य योजनाकार मीन देवकोटा र सुमन श्रेष्ठ हुन्।
श्रेष्ठ योङ कम्युनिष्ट फोर्सका संयोजक हुन् भने देवकोटा पार्टीको उच्च तहका नेता। त्यस्तै माओवादी कम्युनिष्ट केन्द्रका अध्यक्ष देवेन्द्र महत र महासचिव केशव दाहाल हुन्। चारै जना फरार छन्।
अध्यक्ष महत र महासचिव श्रेष्ठ यसअघि २०७१ कात्तिकमा यार्सागुम्बा लुटेको अभियोगमा पक्राउ परेका थिए। उनीहरु पनि पछि धरौटीमा छुटे।
बम विस्फोटको घटनापछि यी सबैको खोजी भइरहेको एसएसपी थापाले बताए। बस आगजनीको घटनादेखि नै उनीहरु भूमिगत भएर काम गरिरहेको जानकारी थापाले दिए।
यो अपराधिक संगठनका नाईकेहरु पक्राउ नपरुञ्जेल र उनीहरुले गरेको अपराध अनुसारको कारबाही नहुन्जेल फेरि स्कुल बसमा आगजनी तथा बम बिस्फोट गराउने जस्ता जघन्य अपराध दोहरिने सम्भावना कामयै रहन्छ।
source : setopati.com
source : setopati.com
0 comments:
Post a Comment