३ असोज — भारत अनि नेपालको तराई क्षेत्रमा दाइजो नल्याएको भन्दै विवाहिता महिलालाई सताउने अनि जलाएर मारिदिने सम्मका घटना भइरहन्छन् । यसैको पछिल्लो उदाहरणस्वरूप एक क्रूर पतिले आफ्नी पत्नीलाई दाइजो नल्याएको भन्दै नाक काटिदिएको घटना सार्वजनिक भएको छ । भारतको उत्तर प्रदेशमा बस्ने पच्चीस वर्षीया कमलेशका पति सञ्जीव राठोडले दाइजोका रूपमा ५० हजार रुपैयाँ माग गरिरहेका थिए । कमलेशको गरीब परिवारले यति ठूलो रकम जुटाउन सकेनन् । बिहे भएको आठ वर्ष बितिसक्दा पनि दाइजोको माग यथावत् थियो ।
विगत आठ वर्षदेखि सञ्जीवले कमलेशलाई यातना दिएर राखेको थियो । कहिले बेल्टले, कहिले चप्पलले अनि कहिले लट्ठीले ऊ पत्नीलाई पिटिरहन्थ्यो । कमलेशका बा—आमाले दाइजोको रकम जुटाउन नसक्ने भएपनि सञ्जीव जसरी पनि यो रकम आफूले पाउनुपर्ने भन्दै कमलेशलाई ठटाइरहन्थ्यो । बिचरी कमलेश यस्तो कठोर यातना सहेर बसिरहेकी थिइन् । गत भदौ २९ गते सञ्जीवको क्रूरताले हदै नाघ्यो ।
कमलेशले उसलाई खाना पकाएर ल्याउँदा सञ्जीवले उसलाई समातेर चक्कु प्रयोग गरी नाकै काटिदियो । सञ्जीवका घरका मान्छेले कमलेशलाई च्याप्प समातेर नाक कटाउन मद्दत गरे । कमलेशलाई अस्पताल लगिएको भएपनि उनको नाक ठीक पार्न सकिएन किनकि सञ्जीवले नाकको टुक्रा आफैंसँग लिएर गएको थियो । कमलेशका अनुसार सञ्जीव सन्की खाले मान्छे हो र उसले नाकको टुक्रा मन्दिरमा चढाएको छ । वास्तवमा दाइजो प्रथा त उन्मूलन नै गर्नुपर्ने हो । महिलालाई दुःख दिने यस्तो प्रथा रहिरहनु समाजकै कलंक हो ।
source::http://hamrosanchar.com

0 comments:
Post a Comment