प्रचण्डको भारत भ्रमणले विगतका सम्झौता कार्यान्वयनको ढोका खुल्छः जोली

३० भदौ, काठमाडौं । भारतीय जनता पार्टीका नेता विजय जोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणले यसअघिका सरकारमा भएका द्विपक्षीय सम्झौता कार्यान्वयनको ढोका खोल्ने विश्वास व्यक्त गरेका छन् । नेता जोलीले प्रचण्डको आजबाट सुरु भएको भारत भ्रमणले द्विपक्षीय सम्बन्धलाई विश्वासमा पुर्‍याउने र विगतमा देखिएका सबैखाले तिक्तताहरु हट्ने दाबी गरे ।

बिहीबार काठमाडौंमा पत्रकारहरुसँग कुराकानी गर्दै जोलीले भने, ‘यसअघिका प्रधानमन्त्री स्वर्गीय सुशील कोइराला र निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीजीले भारतसँग गरेका सम्झौताहरु प्रचण्डजीको भारत भ्रमणसँगै कार्यान्वयनको ढोका खुल्नेमा हामी विश्वस्त छौं ।’

नेपाल मामिलाका जानकार जोली बुधबार काठमाडौं आएका हुन् ।

उनले पटक-पटक सरकार परिवर्तन भइरहने नेपालको राजनीतिक अभ्यास नै गलत भएको टिप्पणी गरे । अस्थिर राजनीतिको कारण नेपालमा आर्थिक विकास हुन नसकेको धारणा उनले राखे ।

नेपालमा राजनीतिक अस्थिरता हावी भएकाले आर्थिक समृद्धि हुन नसकेको उल्लेख गर्दै उनले भने, ‘नेपालमा छोटो समयमै सरकार परिवर्तन हुने गरेको छ, यसले मुलुकमा अस्थिरता निम्त्याएको छ ।’

नेपालको आन्तरिक राजनीतिमा भारतले हस्तक्षेप नगरेको दावी गर्दै जोलीले भने, ‘नेपालमा देखिएको पोलिटिकल प्राक्टिस नै गलत छ, यसमा हामीलाई दुःख लागेको छ ।’
source::www.onlinekhabar.com
Share on Google Plus

About admin

    Comment
    Facebook Comment

0 comments:

Post a Comment