कहिलेकाहीँ सम्झनाले भक्कानो फुटेर आउँछकविता ढुंगाना
हरेक वर्ष जब दशैं आउँछ तब मलाई मेरा बाबाको झल्झली याद आउँछ । दशैमा सबै साथी संगीहरु हर्षोल्लासका साथ आ-आफ्ना घर फर्कन्छन् । मेरो उमेर समूहका सबै साथीहरू काठमाडौंबाट ठूलो उत्साह र उमंग बोकी आफ्ना प्यारा बा-आमा भेट्न घर फर्कन्छन् । सबैका घरमा हाँसो र खुसीको बहार आएको देख्छु । सबैले आफ्नो उन्नति प्रगतिको विवरण आफ्ना बा-आमालाई उत्साहपूर्वक सुनाउँछन् र नयाँ-नयाँ कुरा सिक्छन् ।
कविता ढुंगाना
कुनैबेला नुवाकोट जिल्लाको जिल्ला विकास समितिको सभापति समेत भैसक्नु भएका माओवादीका तत्कालीन केन्द्रीय तहका नेता श्रद्धेय बाबा भरत ढुंगाना विनाको दशैं विताएको पनि दशक बढी भैसकेछ । म १४ वर्षकी हुँदा ०६१ असार १३ मा बाबालाई तत्कालीन शाही सेनाले धादिङको गुम्दीमा एउटा घरमा घेरा हाली गिरफ्तार गरेर कायरतापूर्वक हत्या गरेको थियोे रे ।तर, मेरो बाबा त सहिद भैसक्नु भएको छ । घर पुग्दा टोलाएर कहिले यता हेर्छु, कहिले उता हेर्छु । कहिले तल हेर्छु, कहिले माथि हेर्छु । कहिले त बाबा टुप्लुक्क आइपुग्नु हुन्छ की जस्तो पनि लाग्छ । तर त्यो असम्भव ! छोरी यो गर, त्यो गर भनेर प्रत्यक्ष मार्गदर्शन गर्ने ठाउँमा त बाबा हुनुहुन्न । तर उहाँको पदचिन्ह पहिल्याउन मैलै हरदम कोसिस गरिरहेकी छु । उहाँबाट मैले आफैं सिक्ने हो । आफैं प्रेरणा लिने हो ।
कहिलेकाहीँ बाबाको सम्झनाले भक्कानो फुटेर आउँछ । अलि सानो हुँदा कहिलेकाँही लाग्थ्यो- मेरै बाबा चाहिँ किन सहिद हुनुभएको होला ? तर जब म अलि बुझ्ने हुँदै गएँ, मैले बाबाको सपना पूरा गर्ने सपथ खाएँ । मनमनै बाबाले देखाएको मुक्तिको बाटोमा सधैंभरि हिँडिरहने अठोट गरें । जानेजति, बुझेजति र सकेजति यो बाटोमा हिँडिरहेकै छु ।
आखिर मेरा बाबा जस्ता थुप्रै योद्धाहरु मर्न तयार नभएको भए आज पनि हामी शाहवंशीय राजतन्त्रको जाँतोमुनि पिल्सीरहेका हुन्थ्यौं । मेरा बाबा जस्ता थुप्रै बाबा, आमा, दादा, दिदीहरुले मृत्युुलाई नजितेको भए आज गणतन्त्रको नयाँ बिहानी कहाँ छाउँथ्यो र ! मेरा बाबाहरुले वीरता नदेखाएको भए आज राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला कहाँ पुग्थे र ! आखिर हिँजोका शासकहरुले त महिलालाई घरको चुलो चौकोबाट निस्कनै दिएका थिएनन् । महान गुरु माओत्सेतुङले भनेका छन्, ‘यदि तिमी दुनियाँ बदल्न चाहन्छौं भने तिमीले यातनाका जस्तासुकै दस्तावेजहरुमा हस्ताक्षर गर्नैपर्छ, चाहे तिम्रा भागमा मृत्यु नै किन नपरोस् !’
हो दुनियाँ बदल्ने बाटोमा हिँड्नु भएका मेरा बाबाका भागमा पनि माओले भनेजस्तै मृत्युु पर्यो र दुष्मनका सामु जीवनको तुच्छ भिख नमागेर त्यसलाई उहाँले सहजतापूर्वक स्विकार गर्नुभयो ।
आफू मरेर दुनियाँलाई उज्ज्यालो छर्ने मेरा महान बाबाको छोरी हुनुमा आज मलाई गर्व छ । मैले मेरा बाबा भएकाले मात्र उहाँलाई महान भनेको हैन ।
नुवाकोट जिल्लाको जिल्ला विकास समितिको बहालवाला सभापति रहेकै बेला त्यस पदबाट राजिनामा दिएर जनयुद्धको बाटोमा हिँड्नुभएका मेरा बाबाको त्याग साँच्चिकै उदाहरणीय छ । आज कुर्सीका लागि मान्छे कति मरिमेट्छन्, तर बाबाले त भएको जिविस सभापतिको कुर्सी फालेर लडाइँमा होमिनुभयो । पद, प्रतिष्ठा र अवसरका लागि मरिहत्ते गर्नेहरू पनि बाबाको निःस्वार्थ वलिदान देख्दा जिव्रो टोक्दा हुन् ।
मेरो प्यारो बाबाको भौतिक साथ, न्यानो माया र सामिप्यता त मसँग अवश्य छैन । तर उहाँको त्याग, समर्पण र वलिदानको पदचिन्ह हामीसँग छ । बाबा र बाबा जस्ता अरु कयौंले लडेर ल्याएको गणतन्त्र हामीसँग छ । समावेशी र समानुपातिक चरित्रको संघीय नेपाल हामीसँग छ ।
हो उहाँहरु हामी माझ हुनुहुन्न र त राष्ट्र निर्माणको मूलप्रवाहमा आज ३३ प्रतिशत महिला जुर्मुराएका छन् । आखिर दुनियाँ बदल्ने यो महासंग्राममा कोही न कोही सहिद बन्न तयार नभएको भए कोही न कोही वेपत्ता बन्न तयार नभएको भए परिवर्तन सम्भव थिएन । परिवर्तनको महान यात्रामा हिँडिसकेपछि क्रान्तिकारीहरुले मलाई वा मेरो परिवारलाई केही नहोस् भन्ने ठान्नु पनि हुँदैन ।
बाबालाई राम्रैसँग हेक्का थियोे जनयुद्धको आँधिमय बाटोमा हिँडिसकेपछि जे पनि हुन सक्छ भनेर ! देश, जनता र वर्गको मुक्तिका खातिर आवश्यकता पर्दा तातो गोली निल्न तयार हुने जोखिमको बाटो उहाँले सहर्ष स्विकार गरेकै हो । बाबाको यो स्पिरिटलाई हामीले बुझ्नुपर्छ जस्तो लाग्छ । उहाँको त्यो उद्दत भावना र विचारलाई हामीले सम्मान गर्नैपर्छ ।
आफ्नो मुटुको टुक्रा भन्दा नि प्यारो अविभावक गुमाउँदा पीडा कसलाई हुँंदैन र ! तर क्रान्तिकारी आन्दोलनका अनिवार्य नियम नवुझ्ने छुट पनि हामीलाई छैन । हामीले आवेगलाई विवेकले नियन्त्रण गर्नुपरेको छ । यसो सोच्छु माओले भनेजस्तै मेरा बाबाले प्वाँख भन्दा हलुका हैन पहाड भन्दा गह्रुंगो मृत्युवरण गर्नुभएको छ । हो उहाँ अजम्वरी हुनुभएको छ । उहाँ नेपाली राजनीतिक आकाशमा कहिल्यै नअस्ताउने तारा हुनुभएको छ । बाबा हजुर गणतन्त्र भएर सधैं चम्किरहनु है !
अलिकति बुझ्ने भएदेखि नै म बाबाले समाएको झण्डा समाउँदै हिँडेकी छु । अहिले म विद्यार्थी नै भएकीले अखिल क्रान्तिकारीको केन्द्रीय सचिवालय सदस्यको जिम्मेवारीसहित पूर्णकालीन रुपमा क्रियाशिल छु । बाबालाई नियन्त्रणमा लिएपछि पनि हत्या गर्ने तत्कालीन आततायी शासकहरुको गैरकानुनी हत्याविरुद्ध लड्ने अठोट गर्दै मैले कानुन पढेर भर्खरै अधिवक्ताको लाइसेन्स पनि लिएको छु । न्याय, समानता र स्वतन्त्रताको लडाइँमा म निरन्तर डटिरहने छु ।
आज पार्टी आन्दोलनमा थुप्रै विकृति देखापरेका छन् । खबरदार सहिदको अवमूल्यन नगरियोस् । सहिदको सपना बेवारिशे पारेर निजी जीवनमा फर्कने छुट कसैलाई छैन । पद, पैसा र प्रतिष्ठाको तुच्छ लुछाचुडीमा नेताहरु नफसुन् । पार्टी फुट्दा म धेरै रोएकी थिएँ । आज फेरि जुट्दा असाध्यै खुसी लागेको छ । बाबाहरुको रगतले बनेको हाम्रो घर (पार्टी) मा रातो स्टिकर टाँसेर कता भाग्नुभएको बाबुराम अंकल ? विप्लव अंकल फर्कनुहोस् । एक्लै कहिँ पनि पुगिन्न ।
(लेखक माओवादी सहिद भरत ढुंगानाकी पुत्री एवं अखिल क्रान्तिकारीकी केन्द्रीय सचिवालय सदस्य हुन्।)
source : onlinekhabar.com

0 comments:
Post a Comment