सेयर किन्नुस्,पैसा दसैंपछि तिर्नुस्


काठमाडौं–अहिले सेयर किनेर दसैंपछि रकम चुक्ता गर्न मिल्ने सुविधाका कारण लगानीर्काले सेयर किन्न थाल्दा सेयर बजार उकालो लागेको छ । सेयर खरिद गरेको रकम दसैंपछि बुझाए पनि हुने भएकाले सेयर खरिदमा चाप देखिएको ब्रोकर बताउँछन् ।
दसैंमा खर्चको जोहो गर्न बिक्री गरेको सेयर कुनै न कुनै तरिकाले पुनः बजारमा फर्कने र त्यसले बजार बढ्ने सम्भावना देखेपछि लगानीकर्ताले सेयर किन्न थालेका छन् र त्यसैको परिणामस्वरुप सेयर बजार मापक नेप्से पुनः उकालो लागेको छ । सेयर बजार सोमबार साढे १६ बिन्दुले बढेको छ ।
दसैंपछि सेयर बजार बढ्ने सम्भावना देखेपछि लगानीकर्ता खरिद गर्न आकर्षित भएको विश्लेषकको भनाइ छ । सोमबार बजार १६.६२ बिन्दुले उक्लिएर  १७८०.४० मा पुगेको छ ।
अहिले सेयर खरिद गर्दा रकम पनि बुझाउन नपर्ने र लगानी नगरी दसैंपछि बजार बढ्दा नाफा हुने देखेर सेयर खरिदतर्फ लगानीकर्ता आकर्षित भएको ब्रोकरहरुको भनाइ छ । ‘लगानी नगरी नाफा हुने देखेपछि सेयर खरिद गर्दा बजार बढ्न पुगेको हो,’ ती ब्रोकरले भने, ‘सधैं कारोबार गर्ने लगानीकर्ताको विश्वासको आधारमा उनीहरुलाई यस्तो सुविधा दिने गरिन्छ ।’ ब्रोकरहरुले पनि दसैं छुट्टीमा राफसाफ गर्नु नपर्ने भएकाले पनि लगानीकर्तालाई सुविधा दिएको बताउँछन् ।
विश्वासका आधारमा सधैं कारोबार गर्ने लगानीकर्तालाई दसैंपछि रकम बुझाए पनि हुने सुविधा दिइएको स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मीले बताए । ‘१–२ दिनको रकम ब्रोकरले मिलाएर पछि लगानीकर्ताबाट असुलउपर हुने गरी पनि खरिद गर्न सकिन्छ,’ उनले भने, ‘सोमबारसम्म खरिद गरेको सेयरको राफसाफ ब्रोकरले भने दसैंअघि नै गर्नुपर्ने हुन्छ ।’
कानुनतः सेयर कारोबार भएको तीन दिनभित्र (टी३) भित्र राफसाफ गर्नुपर्ने हुन्छ । तर, सार्वजनिक बिदा परेकोले त्यो अवधिभित्र बुझाउन ब्रोकर बाध्य हुँदैनन् ।
मर्जरमा गएका बैंकहरुको कारोबार हुन थालेकाले पनि सेयर बजार बढ्नमा मदत पुगेको रेग्मीको भनाइ छ । मर्जरमा गएका बैंक अफ काठमाण्डू लुम्बिनी, प्रभु, कुमारी, ज्योति विकास बैंकलगायत कम्पनीको सेयर कारोबार खुला भएका कारण पनि नेप्से बढेको ब्रोकर बताउँछन् ।
बैंकहरुले धमाधम लाभांश घोषणा गरिरहेको र बिमा कम्पनीले पनि लाभांश घोषणा गर्ने समय आएकाले पनि बजार बढ्नमा मद्दत पुगेको रेग्मीको भनाइ छ ।
बैंकिङ र बिमाले सेयर बजारलाई सोमबार पनि उचालेको छ । कारोबार रकम भने घटेको छ । सोमबार अन्यबाहेक सबै उपसूचक बढेका छन् । बिमा १३५.४५ अंकले उकालो लाग्यो भने बैंकिङ करिब १८ अंकले बढेको छ । होटल २७, विकास बैंक करिब ११, जलविद्युत साढे ५, फाइनान्स करिब १० र उत्पादनमूलक सात अंकले बढेको छ ।
बजारमा दिनभरि १ सय ३६ कम्पनीका जम्मा ७९ करोड रुपैयाँको मात्र सेयर कारोबार भएको छ । यसमध्ये एनबी बैंकको मात्र १४ करोड १३ लाखको किनबेच भएको छ ।
बजारमा एनबी बैंकपछि शिखर इन्स्योरेन्सको आठ करोड ४७ लाख र एभरेस्ट बैंकको ६ करोड ७१ लाख रुपैयाँको किनबेच भएको छ ।
आजबाट सेयर कारोबार खुला भएको प्रभु बैंकको सेयर मूल्य ९.९२ प्रतिशतले बढेको छ । 
source : Nagariknews.com
Share on Google Plus

About admin

    Comment
    Facebook Comment

0 comments:

Post a Comment