प्रिय पुस्तक : लुकीलुकी पढेको ‘वसन्ती’

दश कक्षा पढ्थेँ । कथा र उपन्याससँग प्रेम बसिसकेको थियो । बा डायमन शमशेरको फ्यान । उनका धेरैजसो किताब घरमा भएर पनि नभए जस्तै थियो, किनभने ती दराजमा हुन्थे । दराजमा चाबी लगाइएको हुन्थ्यो । चाबी बाको जनैमा हुन्थ्यो । जनैको चाबी चोर्ने क्षमता मसँग थिएन । त्यसैले बाहिरी किताब देख्न पाउने भनेको बाले पढ्दै गर्दा मात्र हो ।

बाले पढाउने स्कुल मैले पढ्ने स्कूलभन्दा नजिक थियो । त्यसैले म स्कूलबाट फर्कँदा प्रायः बा पिँढीको खाटमा बसेर मोही र मकै खाँदै कुनै न कुनै किताब या पत्रपत्रिका पढिरहेको हुनुहुन्थ्यो ।

एकदिन म स्कूलबाट फर्कँदा बा एउटा किताब पढिरहनुभएको थियो । भित्र गएर स्कूले झोला राखेँ र लुगा फेरेँ । आमाले तयार पारिदिनुभएको मोही र मकै लिएर म पनि पिँढीकै खाटमा आएर बाभन्दा अलि पर बसेँ ।

एकछिन चुपचाप मकै खाएँ अनि बाले के किताब पढ्नुभएको रहेछ भनेर बातिर ढल्केर कुखुराले झैं घाँटी तन्काएर हेरेँ । बाले किताब अझ आफैंतिर ढल्काउनुभयो । मानौं त्यो किताब मैले पढ्नै नहुने हो । झन् हेर्न मन लाग्यो । आवरण भए पनि हेर्न पर्‍यो भनेर टाउको निहुराउँदै आवरणतिर कोल्टिएँ । गाता लगाइएको रहेछ । खोल पनि देख्न पाइनँ !
एकछिनमा बा किताब त्यहीँ राखेर कुनै कामले गोठतिर जानुभयो । सायद भैंसी करायो या केही भयो । बा गएपछि हतारहतार किताब पल्टाएँ र पहिलो पृष्ठ नै पढ्न सुरु गरेँ- ‘अठारौं शताब्दीको दिन थियो… १९८५ सालको दिन… विश्वासघातक भदौरे झरीको दिन… ।’

बिजुली गतिमा पढ्दै गएँ र पहिलो पृष्ठको अन्तिमतिर पुगेर टक्क रोकिएँ र पटकपटक पढेँ, जहाँ उपन्यासकारले नायिकाको वर्णन यसरी गरेका थिए – ‘… बरफको टुक्रामा धूलो लाग्यो र त्यो पुछियो भने त्यो टुक्रा जसरी चम्किन्छ, त्यसै गरेर उसको रङ पनि हरेक पटकको पुछाइमा उज्ज्वलतम देखिन थाल्यो । अनि मुखमा झरेका केश, जुन लिसोले लट्टा परेका थिए, लाई दुवै हातले पन्छाएर शिर पछाडि जुरो पार्न लागी । यसो गर्दा उसको छाती बेपर्दासित प्रदर्शित भयो… ।’

यति पढेपछि के चाहियो र ! तामाको मुनाजस्तो पलाउँदै गरेको मेरो कलिलो बैंसमा तरङ्ग पैदा भइहाल्यो । यही भएर पो बूढाले लुकाएर पढेका रहेछन् अनि चाबी लगाएर राखेका रहेछन् भन्ने लाग्यो । यो किताबभित्र एउटी युवतीको वस्त्रभित्र हुने चिज जस्तै रहस्यमय, आकर्षक र सुन्दर कुरा छन् । यो किताब मैले जसरी पनि पढ्नुपर्छ भन्ने लाग्यो ।

पहिलो पृष्ठ पढेर यस्सो के पाना पल्टाउन लागेको थिएँ, बा आइहाल्नुभयो र मेरो हातबाट फुत्त किताब तानेर भन्नुभयो – ‘केटकेटीले पढ्दैनन् यस्तो किताब । खुरुखुरु आफ्नो कोर्सको किताब नपढेर !’

बाले यति भनेपछि त झन् यो किताब जसरी पनि पढ्नैपर्छ भन्ने लाग्यो । अझ उत्सुकता जाग्यो । जिद्दी गरेर ‘पढ्छु के बा’ भन्ने आँट मसँग थिएन । बासँग असाध्यै डर लाग्थ्यो ।

किताब अलि मोटै भएकाले बाले पनि एकै दिनमा पढेर सक्ने कुरा भएन । फुर्सद मिलाएर पढ्दा तीन-चार दिन लाग्ला । पढेर नसकिएका किताब भने दराजमा होइन, बाको सिरानीमुनि हुन्थे ।

अब मेरो काम भनेको बा घरमा नभएको मौका छोपेर सिरानीमुनिबाट त्यो किताब झिकेर लुकीलुकी पढ्ने भयो ।

एकदिन बाको सिरानीमुनिबाट झिकेर पढ्दापढ्दै पट्याकपट्याक पायल चप्पल पड्काएको आवाज आयो । बा आउनुभएको हो भन्ने थाहा पाइहालेँ । जस्ताको तस्तै बनाएर फेरि किताब सिरानीमुनि राखिदिएँ र आफ्नो किताब पढ्न थालेँ ।

यसरी लुकीलुकी किताब पढ्दै जाँदा कुनैकुनै ठाउँमा यति राम्रो लाग्यो कि मन परेका हरफहरु कापीमा सार्न थालेँ । सार्दै जाँदा त मैले एउटा सानो कापी नै भरेछु । मैले सारेका केही हरफ :

युवतीले सोध्छे – ‘तपाईंको घर कता पर्‍यो नि ?’

युवक भन्छ – ‘जहाँ बस्यो त्यहीँ घर, जसले माया गर्‍यो उही आफ्नो ।’ (पृष्ठ ५)+

जस्तो कोइलीले बगैंचालाई, पुतलीले बत्तीलाई, भमराले फूललाई, च्याखुराले चन्द्रमालाई प्रेम गर्दछन्, त्यस्तै गाढा प्रेम वसन्ती र गगनसिंहका बीचमा परेको थियो । (पृष्ठ ४३)+

शान्त सरोवरमा एउटा पत्थरको हठात्‌को प्रतिघातमा छलल्केर तरङ्गका असङ्ख्य नागबेली लहर फिँजिएको जस्तो गगनसिंहको उदार हृदयमा रहस्यमय स्मृतिको सङ्कीर्ण पत्थरले ठक्कर दिएर भय र शङ्काका तरङ्गहरु उसको अनुहारमा अचानक फिाजिएका वसन्तीले हेरिरही, जहाँ बुझ्न नसकिने वेदनाका असङ्ख्य रेखा कोरिएका थिए । (पृष्ठ ४९)

कचहरीमा महारानी र जंगबहादुरको संवाद :

– ‘सरकार ! औसर माफ पाऊँ । प्रेमले मलाई आँखाको अन्धो, कानको बहिरो, मुखको लाटो, मगजको बौलाहा तुल्यायो । … दोषी छ भने यो प्रेम दोषी छ, यदि प्रेम गर्नमा पाप छ भने ।’

– ‘तँलाई वसन्तीमाथि साँच्चिकै प्रेम थियो भने तैंले उसलाई डम्बरबहादुरले भन्दा पहिले किन विवाह गरिनस् ?’

– ‘प्रेम गर्ने बित्तिकै विवाह गर्न पाइने भए आज दुनियाँमा प्रेमकहानी सुन्न पाइने थिएन । … धेरै राजारानी, राजकुमार र राजकुमारीले आफ्नो राजपाट, धन-सम्पत्ति, नाम र कीर्तिलाई तिलाञ्जली दिएर प्रेमको नाम जप्तै प्रेमसागरको भुमरीमा रिङ्दै प्राण छोडेका छन् । म एक छुद्रको के छ र, म आफ्नो प्रेमिकाको निम्ति मर्न डराउँछु ?’ (पृष्ठ ७६)

मुख देख्दैन, आँखा बोल्दैन, ठूलाबडाको नाम लिएर मेरो जिब्रो पातमा राख्न चाहन्ना । त्यो बडा व्यक्तित्वलाई मेरा भक्तिपूर्ण आँखाले टुलुटुलु सामुन्ने देखिरहेका छन्, कानले सुनिरहेछन्, मुखले बोलिरहेछन् तर त्यो ठूलो ओजस्वी नामको पवित्र उच्चारण मेरो सानो जिब्रोले गर्न सक्तैन… ।’ (पृष्ठ ७९)

कचहरीमा महारानी र डम्बरेको संवाद :

– ‘अरुले छोक्रा बनाएको वस्तु ता के निल्छस् ? छोड्दे वसन्तीलाई ।’

– ‘सरकार ! सत्य बिन्ती गरुँ भने छोक्रा कहिल्यै हुन्न वसन्ती चपाएर दाँतै झरे पनि ।’

– ‘छोक्रा नभए पनि बिटुली भएकी छे वसन्ती । यसरी अर्काको जूठो खाएर तेरो आत्मालाई दूषित नपार, छोड्दे वसन्तीलाई ।’

– ‘सरकार ! अघाएको मात्र चोखो खान खोज्छ, म भोको छु ।’ (पृष्ठ ८१ र ८२)

पढ्दै गर्दा र पढिसकेपछि म उपन्यासमा यति धेरै डुबेछु, जहाँ हेरे पनि उपन्यासका पात्रहरु मात्र देख्न थालेँ । मैले बाहिरको दृश्यभन्दा आफ्नो मनोलोकको दृश्य धेरै देख्न थालेँ ।

पाठ्यपुस्तकको दुई पृष्ठ पढ्न अल्छी लाग्ने मान्छे दुई सय पृष्ठको किताब यति आनन्द लिएर पढेको थिएँ । आफैसँग आफैं छक्क थिएँ । यो उपन्यासको नाम हो – ‘वसन्ती’ । लेखक डायमन शमशेर । सायद म बाभन्दा ठूलो फ्यान भएँ डायमनशमशेरको ।

वसन्ती र सेतो बाघको प्रभावमा परेर मैले एसएलसी दिएर दुइटा उपन्यास लेखेको थिएँ । विषय अर्कै थियो, तर प्रभाव र प्रेरणा डायमनकै कृतिहरु ‘वसन्ती’ र ‘सेतो बाघ’ को थियो । शैली र संरचना पनि चोरेको थिएँ ।

सत्य र कल्पना, इतिहास र समाज, मनोविज्ञान र द्वन्द्वलाई सन्तुलित ढङ्गले लेखिएको वसन्तीको प्रभाव आज पनि मेरो मनोलोकमा घटेको छैन ।

रोमाञ्च र रहस्य, प्रेम र त्याग, षड्यन्त्र र हत्या, फोहोरी राजनीति र रगतले लेखिएको इतिहासको जीवन्त दस्तावेज हो, वसन्ती ।

२०७३ भदौ २५ गते १२:४० मा प्रकाशित

source::http://www.onlinekhabar.com/

Share on Google Plus

About admin

    Comment
    Facebook Comment

0 comments:

Post a Comment