दशैंमा खाद्यान्न उपभोग गर्दा होसियार बनौं


चाडवाडमा खाद्य पदार्थको बिक्री-वितरण, खरिद तथा उपभोग बढ्ने गर्छ । खाद्य पदार्थमा गुणस्तरको कुरा गर्दा बजारमा पाइने सबै वस्तु गुणस्तरहीन नै हुन्छ भन्ने होइन । तर, केही खाद्य उत्पादन गुणस्तरहीन भएको हामीले बजार अनुगमनका क्रममा भेट्ने गरेका छौं ।
खाद्य उद्योग, खाद्य बजार, होटल, रेष्टुरेन्ट निरीक्षण तथा अनुगमनको हाम्रो अनुभवमा सामान्यतया ठाउँ अनुसार १० देखि २० प्रतिशत खाद्य उत्पादनमा कुनै न कुनै कैफियत पाइएको छ । यस्तो समस्या चाडबाडमा झन् बढी देखिने भएकाले उपभोक्ताहरु खाद्य पदार्थको गुणस्तरबारे चनाखो हुनु जरुरी छ ।
उपभोक्ताहरुले गुणस्तरीय खाद्य उत्पादन खरिद गर्ने क्रममा नठगिन केही सामान्य कुरालाई ध्यान दिनु आवश्यक छः
·  आफूले खरिद गर्ने डिब्बा, बोतल र प्याकेट बन्द खाद्य उत्पादनहरुको लेवल विवरण राम्ररी हेरेर उत्पादन मिति, उपभोग्य मिति, तौल, मूल्य, उत्पादकको नाम, ठेगाना, त्यस खाद्य पदार्थमा  प्रयोग भएको बनावटको मिश्रण आदि उचित र सही छ भने मात्र खरिद गर्ने ।
·  सिल र बिर्को खुलेको, च्यातिएको देखिए र शंकास्पद लागेमा त्यस्तो खाद्य पदार्थ खरिद नगर्ने ।
·  सकभर आफूले उपभोग गर्दै आएको भरपर्दो एवं विश्वासिलो उद्योग एवं उत्पादकको खाद्य पदार्थ रोज्ने ।
·  कतिपय बेला चाडबाडको बेला पारेर नयाँ उत्पादकको उत्पादन देखिन्छन्, त्यस्ता उत्पादनलाई तुरुन्तै विश्वास गर्नु हुँदैन ।
·   खोलमा लेवल विवरण नभएका, अंग्रेजी, नेपाली बाहेकका नबुझिने विदेशी भाषामा लेवल विवरण भएका, घाममा पनर्ेे गरी प्रत्यक्ष रुपमा राखिएका वा सजाएका, भिजेका, ओसिलो ठाउँमा भण्डारण गरिएका, अखाद्य पदार्थहरुको नजिकै वा सँंगसँगै राखिएका खाद्य पदार्थहरु खरिद नगर्ने ।
·  अधिक मात्रामा रङको प्रयोग भएका, खुला रुपमा राखिएका, फोहोर ठाउँमा तयार पारिएका, सडेगलेका, धुवाँधूलो, कीरा जस्ता बाह्य पदार्थहरु सजिलै मिसिनेे ठाँउ एवं व्यस्त सडकपेटीमा राखिएका, फोहोरी तथा रोगी व्यक्तिले तयार गरेको वा बिक्री-वितरण गरेका, अस्वाभाविक रुपमा मूल्य घटाएर बिक्रीमा राखिएका खाद्य पदार्थहरु खरिद एवं उपभोग नगर्ने ।
यी कुरालाई ध्यान दिन सकियो भने मात्र पनि गुणस्तरहीन खाद्य पदार्थको उत्पादन तथा बिक्री-वितरणमा निश्चय पनि कमी आउँछ । त्यसबाट खाद्य स्वच्छता र गुण नियन्त्रणको कार्यमा स्वनियमन हुन गई आम उपभोक्ताको तर्फबाट समेत महत्वपूर्ण योगदान हुन्छ ।
खासगरी, बजारमा पाइने तेल, चामल, दाल, मिठाई, चाउचाउ, बिस्कुट जस्ता सबैभन्दा बढी खपत हुने खाद्यपदार्थमा मिसावट भए-नभएको सर्वसाधारणले त्यति सजिलै थाहा पाउँदैनन् । त्यसलाई वैज्ञानिक परीक्षण गर्नुपर्छ । तर पनि सर्वसाधारणले आˆनो लामो उपभोगको अनुभव र अवस्था हेरेरै पनि मोटामोटी रुपमा थाहा पाउन सक्छन् ।
कतिपय अवस्थामा खाद्य पदार्थको रङ, गन्ध, स्वाद, आकारप्रकार, भौतिक अवस्था, बाह्य पदार्थको उपस्थिति आदिबाट केही हदसम्म मिसावट भए-नभएको थाहा पाउन त सकिन्छ । तर, सबै खाद्य पदार्थको हकमा यो लागू नहुन सक्छ ।
जस्तैः मिक्स दाल भनेर बिक्री वितरण भइरहेको दालमा हामीले खेसरीको दाल मिसाइएको सजिलै थाहा पाउन सकिन्छ । त्यसको लागि खेसरीको दालको आकारप्रकारबारे जानकार चाहिँ हुनुपर्छ, जुन गोलाकार नभई नमिलेको, अलिक सानो, एकातर्फ अलि चुच्चो परेको हुन्छ । खेसरीको दाल स्वास्थ्यका लागि हानिकारक हुन्छ र यसको लामो समयसम्मको उपभोगले प्यारालाइसिस हुने कुरा विज्ञानले पुष्टि नै गरेको छ ।
अब तेलको कुरा गरौं । तोरीको तेलको बोतल हेर्दा तेल एकनासको हुनुपर्छ । तर, बोतलको पिँधमा धमिलो जम्न खोजेको छ भने सस्तो खाद्य तेल पाम आयलको मिसावट हुन सक्छ ।
त्यस्तै, दूधमा पानी मिसाए-नमिसाएकोे कुरा दूधलाई भाँडामा खन्याउँंदा तर (चिल्लो पदार्थ) को मात्राबाट थाहा हुन्छ । लामो समयसम्म दूध फाटेन वा दही जमेन भने सोडाको मिसावट गरिएको हुन्छ ।
सर्वसाधारणलाई कुनै पनि खाद्यवस्तुमा शंका लागेमा त्यो खरिद नगर्ने, यसका उत्पादक तथा बिक्रेतालाई सोधपुछ तथा प्रतिप्रश्न गर्ने बानी बसाल्ने र नियमनकारी निकायहरुलाई जानकारी दिने अभ्यास गर्नुपर्छ । त्यसबाट मिसावट भए-नभएको छिनोफानो गरी कानुनी कारवाही गर्न मद्दत मिल्छ ।
उपभोक्ताहरुले जे-जस्तो अवस्थामा भेटिन्छ, त्यही खरिद गरी खाने त हो भन्ने सोचलाई बदल्नु जरुरी छ । आफ्नो अनुभव, उत्पादन र बजारको अवस्था र विभिन्न सञ्चार माध्यम तथा नियमनकारी निकायहरुले दिएको जानकारी आदिलाई ध्यान दिएर गुणस्तरीय खाद्य पदार्थको छनोट गर्न सके ढुक्क भएर तिनको उपभोग गर्न सकिन्छ ।
अन्त्यमा, स्वच्छ र गुणस्तरीय खानेकुरा नै स्वस्थ्य जीवनको आधार हो भन्ने तथ्य मनन गरी सोही अनुसार खाद्य पदार्थको छनोट, खरिद र उपभोग गर्न आग्रह गर्छु । साथै, स्वच्छ र  गुणस्तरीय खाद्य पदार्थको उत्पादन, खरिद बिक्री तथा उपभोगमा उत्पादक, बिक्रेता, उपभोक्ता र हामी नियमनकारी निकाय सबैको अहम् जिम्मेवारी रहेकोले खाद्य स्वच्छता कायम राख्न सबैको सहयोग अपरिहार्य हुने कुरा राख्न चाहन्छु  ।
(क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख खत्रीसँग अनलाइनखबरकर्मी सलमान खानले गरेको कुराकानीमा आधारित ।)
source : onlinekhabar.com
Share on Google Plus

About admin

    Comment
    Facebook Comment

0 comments:

Post a Comment